सावधान ! सार्वजनिक ठाँउमा चुरोट पिउनेबिरुद्ध यस्तो छ प्रहरीको ‘अन द स्पट’ अप्रेशन

काठमाडौं– ‘सार्वजनिक ठाउँमा चुरोट पिउनुहँदैन भन्ने तपाईंलाई थाहा छैन ?’ बर्दिधारी प्रहरी इन्स्पेक्टरले कडा प्रश्न गरेसँगै बुद्धकुमार कार्कीले हतार–हतार चुरोट फाल्दै बोले, ‘थाहै थिएन सर !’ डर मिश्रित स्वरमा कार्कीले अनभिज्ञता प्रकट गरेपछि महानगरीय प्रहरी वृत बालाजुका इन्सपेक्टर ऋषिराम मगरले सम्झाउन थाले, ‘सार्वजनिक ठाउँमा चुरोट सेवन गर्दा तपाईंलाई मात्रै हैन वरपरका सबैलाई असर गर्छ । हाम्रो देशको कानुनअनुसार सार्वजनिक ठाउँमा धुम्रपान गर्न पाइँदैन । अबदेखि तपाईं पनि यस्तो नगर्नुस् साथीभाईलाई पनि भन्नुस्, कुरा बुझ्नु भो नी ?’ ऋषिराम मगरले यसरी केही मिनेट सम्झाएसँगै उनीसँगै रहेका प्रहरी जवानले बुद्धकुमारको नाम ठेगाना सोधेर आइन्दा सार्वजनिक ठाउँमा चुरोट सेवन नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराए । त्यसपछि प्रहरी टोली त्यहाँबाट अगाडी बढ्यो ।
मंगलबार बिहानै बालाजुस्थित माछापोखरीमा यस्तो दृश्य देखेपछि रातोपाटीको टीमले प्रहरी टोलीलाई पछ्यायौँ । अन्यत्रकालाई नयाँ जस्तो लागेपनि बालाजु क्षेत्रका स्थानीयका लागी यो दृश्य पुरानो भैसकेको थियो । गत पुस अन्तिम साताबाट आफ्नो क्षेत्रका सार्वजनिक स्थानमा धुम्रपानबिरोधी अभियान शुरु गरेको बालाजु प्रहरीले हालसम्म ६ सय भन्दाबढी अम्मलीलाई सम्झाई–बुझाई गरिसकेको छ । ‘कानुनले पक्रने र थुन्ने अधिकार दिएको छैन’ महानगरीय प्रहरी वृत बालजुका डिएसपी संजीव शर्माले रातोपाटीसँग भने, ‘त्यसैले अहिले चोक–चोकमा चुरोट तान्दै हिँड्नेलाई सम्झाई–बुझाई आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराएर छाड्ने गरेका छौँ ।’ सार्वजनिक क्षेत्रमा धुम्रपानबिरुद्ध नयाँ शैलीको अभियान शुरु गरेको महानगरीय प्रहरी वृत बालाजु ले डेढ महिनाको बीचमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ । अभियानको पहिलो दिन अर्थात् गत पुस २८ गते ३६ जना चुसे (चुरोट सेवन) गर्नेलाई सिसीटिभीको फुटेजमा कैद गराएर प्रहरीले आइन्दा त्यसरी सावजनिक ठाउँमा चुसे नर्गन आग्रह गरेको थियो । ‘अहिले त्यो संख्या घट्दै गएको छ,’ डिएसपी शर्मा भन्छन् ।
मंगलबार बिहान रातोपाटीले पछ्याउँदा इन्सपेक्टर ऋषिराम मगरसहितको टोलीले करिब आधा दर्जन चुसे गर्नेलाई सचेत गराएर छाडेका थिए । धादिङबाट काम विशेषले काठमाडौं आएका राजेश लुइँटेल एकाबिहानै प्रहरीको फन्दामा परे । प्रहरीले तयार पारेको प्रतिबद्धता हस्ताक्षर गरेपछि लुइँटेलले भने, ‘हाम्रो जिल्लातिर जतासुकै चुरोट तान्न पाईन्छ, आज प्रहरीको फन्दामा परेँ ।’ धुम्रपान विरुद्ध अभियान सफल पार्न महानगरीय प्रहरी वृत बालाजुले इन्सपेक्टर ऋषि मगरको संयोजकत्वमा पाँच सदस्यीय टोली बनाएको छ । प्रहरी सहायक निरिक्षक संजीव भुजेल उनको टिमका नियमति सदस्य हुन् । ‘अरु सदस्य थपघट भईरहन्छन्’ मगरले भने, ‘अभियानबारे वृतका सवै स्टाफलाई अपनत्व महसुस गराउन हामीले केही दिनको फरकमा सदस्य परिवर्तन गरिरहन्छौँ ।’ बाटोमा भेटिएका चुसे गर्नेलाई सम्झाउनेमा मात्र सिमित छैन प्रहरी अभियान । बालाजु प्रहरीले आफ्नो एरियाका स्कुल, कलेजमा पनि धुम्रपानका असरबारे कक्षा दिन थालेको छ । हाइप्रोफाईलले भने, ‘चुरोट कम्पनी बन्द गर !’ सार्वजनिक ठाउँमा धुम्रपान गर्न नपाईने कानुन कार्यान्वयनका लागी नयाँ शैलीको अभियान शुरु गरेपछि प्रहरीको फन्दामा पर्नेमा सर्वसाधारण मात्र थिएनन्, केही ‘हाईप्रोफाईल’ पनि छन् । केहि दिनअघि वृत अगाडी चुरोट खाँदै हिँडेका नेपाली सेनाका पूर्व मेजर बालाजु प्रहरीको फन्दामा परे । ‘बल्ल बल्ल सम्झाएर हस्ताक्षर गरायौँ’ डिएसपी शर्माले भने, ‘उल्टै, कम्पनी बन्द गर्नुस् भन्दै थिए उनी ।’
नेपाली सेनाका पूर्व मेजर एक प्रतिनिधी पात्र हुन्, उनीजस्ता धेरै ‘हाईप्रोफाइल’ले कम्पनी बन्द गर्ने चेतावनी दिँदै प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेर फर्कने गरेका छन् । ‘हाईप्रोफाईल पहिले रवाफ देखाउँथे, फोटो खिच्ने भनेपछि आतिन्थे’ बालाजुमा कार्यरत सई सरोज सिलवाल भन्छन्, ‘आजभोली ‘हाईप्रोफाइल’ भेटिँदैनन्, हाम्रो अभियान थाहा नभएका मात्रै नयाँ बसपार्कतिर फाट्टफुट्ट भेटिन्छन् ।’ 
(फोटो : बिजु महर्जन)

श्रोत - रातोपाटी

Comments

Post a Comment