केले तान्यो पूर्व लडाकुलाई बाबुरामको ‘नयाँ शक्तिमा?’

पूर्वी रुकुमको मगर बस्तीमा जीतमान पुन उर्फ कमरेड मार्सल जनयुद्धको सुरुवातीदेखि माओवादी सेनामा सहभागी भए। जनयुद्ध शुरु नहुँदै पूर्वी रुकुममा गिरिजाप्रसाद कोइराला सरकारले तात्कालीन जनमोर्चा विरुद्ध मुद्दा चलाउने अभियान नै थालेको थियो। पुन पनि मुद्दाको सिकार भए र युद्ध सुरु नहुँदै भूमिगत भए। पंचायतकालमा पनि कहिले गाईको मासु खाएको त कहिले गाजा खेती गरेको भन्दै पूर्वी रुकुममा धरपकड र मुद्दाको खेती मौलाएकै थियो।
 
एक दशक लामो युद्धमा नाम सुनिएका सबैजसो युद्धमोर्चामा पुन पहिलो ‘एसल्ट’मै सहभागी थिए। ‘जनमुक्ति सेना’ अस्थायी शिविरमा बस्न थालेपछि ब्रिगेड कमाण्डर पुन रोल्पास्थित पाँचौं डिभिजनमा बसे। पहिलो संविधानसभा चुनाव हुनुअघि ‘क्रिम लडाकु’लाई शिविरबाट निकाल्ने माओवादी नीतिअनुसार उनी पनि वाइसीएलको जिम्मेवारी लिएर शिविरबाट बाहिरिए।
 
नेपालमा दोस्रो दर्जाको मान्छेको जुनी बाँचिरहेका दलित, महिला, कर्णालीबासी, मधेसी र आदिवासीले पनि मान्छेजस्तो बाँच्न पाउनुपर्छ भन्ने सपना उनेर उनले आफ्नो जीवनका धेरै उर्भर याम खर्चिए। त्यो सपना उनकै पार्टी अध्यक्ष कमरेड प्रचण्डले रोपिदिएका थिए र उनकै टिममा बसेर लामो समयसम्म काम गरे। प्रचण्ड र स्वयं एमाओवादीको स्खलनसँगै उनको त्यो सपनाको पनि अवसान भयो।  
 
लामो समय ओझेल परेका पुन फेरि पुसको पहिलो साता समाचारमा आए, पूर्व जनमुक्ति सेनाका कैयन् लडाकुसहित एमाओवादी छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा संलग्न भएर।
 
‘विचारको लागि नै लाग्ने हो भने त विप्लव माओवादीमा पनि लाग्न सकिन्थ्यो। तर फेरि युद्धको बाटो समात्न मन लागेन, चुप लागेर बस्न पनि मन लागेन। त्यसैले नयाँ शक्तिमा लागेँ,’ पुनले सेतोपाटीसित भने, ‘एमाओवादीमा बसेर त के गर्नु र? मध्यमार्गी ठानेर नयाँ शक्तिमा लागेँ।’
 
अहिले रुकुममा बाबुरामको नयाँ शक्तिको नेतृत्व युद्धकालका रुकुम जनसरकार प्रमुख सरुण बाँठा मगरले गरेका छन्। माओवादीमा लाग्नुअघि उनी रुकुमस्थित बाफीकोटको माविमा अंग्रेजी पढाउँथे। 
 
युद्धकालभर पार्टी संगठनभित्र चिहाउनसमेत नपाएका बाबुरामको लागि माओवादी आन्दोलनको ‘इपिसेन्टर’ मानिने रोल्पा–रुकुम र माओवादी सेनामा आफ्नो पकड जमाउनु धेरै परको कुरा थियो। 
 
बाबुरामले एमाओवादी नछाड्दासम्म रुकुममा पनि उनको पक्षमा उभिने कोही थिएनन्। आफ्नोे सुरक्षागाड बसेका जनमुक्ति सेनाबाहेका सित बाबुरामको छलफल सम्भव थिएन। माओवादी सेनामा बाबुरामलाई भारतपरस्त भनेर प्रशिक्षित गरिएको थियो। चेन अफ कमाण्डमा चल्ने सेनाका लागि सुप्रिम कमाण्डर नै पार्टी सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड भएपछि बाबुरामलाई माओवादी सेनाको छेउ पर्न दिने कुरै भएन।
 
माओवादी सेना अस्थायी शिविरमा बस्दासमेत बाबुराम निकट नेतालाई अघोषित प्रतिबन्धजस्तै थियो। तर अहिले एकाएक पूर्व लडाकु नयाँ शक्तिमा लागेको सार्वजनिक भयो।  
 
नयाँ शक्तिमा युवालाई संयोजन गर्ने जिम्मा पाएका गंगा श्रेष्ठले भने, ‘हामी पनि जान्थ्यौं अस्थायी शिविरहरुमा तर छलफल गर्ने अवसर थिएन। फर्केर आउँथ्यौं। हिजो त जनमुक्ति सेनामा छलफल गर्ने अवसर नै भएन। म आफै विग्रेड कमिसार थिएँ तर स्वतन्त्रता थिएन। स्वतन्त्र धरातल पाएपछि साथीहरु नयाँ शक्तिमा आउनुभयो।’ 
 
पुस ५ गते राजधानीमा पूर्व जनमुक्ति सेना र वाइसीएल भेलालाई सम्बोधन गर्दै बाबुरामले पनि सेनासित भेटघाट र छलफल गर्न पुरै छेकबार गरिएको बताएका थिए। बाबुरामतिर खुल्लमखुल्ला देखिएका माथिल्लो तहका मध्ये पहिलो डिभिजन सहकमाण्डर हरिबहादुर श्रेष्ठ प्रमोद मात्र थिए। गत हप्ता श्रेष्ठसहित थप तीनजना डिभिजन सकमाण्डर जनकबहादुर विष्ट कुवेर (कालीकोट), दुर्गाप्रसाद चौधरी (बाँके) र रामबाबु थापा (सिन्धुली) पनि नयाँ शक्तिमा लागेको जारी विज्ञप्तिमा उल्लेख छ। यसैगरी, एमाओवादीले अर्धसैनिक दस्ताको रुपमा लिएको वाइसीएलबाट उदयबहादुर राई नेतृत्वमा नयाँ शक्तिमा लागेका छन्। उनी वाईसीएल केन्द्रीय केन्द्रीय प्रशिक्षण विभागमा थिए। विष्ट तेस्रो, चौधरी छैठौं, थापा र श्रेष्ठ पहिलो डिभिजन सहकमाण्डर थिए।
 
१६ डिभिजन सहकमाण्डरमध्ये रुकुमका वीरेन्द्र बीएम समायोजन रोजी नेपाली सेनाको मेजर छन्। काभ्रेका संजीव लामा र प्युठानका वासुदेव घिमिरे लेफ्टीनेन्ट कर्णेल छन्। बाँकी डिभिजन सहकमाण्डरमध्ये उदयबहादुर चलाउने नेतृत्वमा विप्लव माओवादीमा छन्।
 
माओवादी विभाजन हुँदा डिभिजन सहकमाण्डरमध्ये चलाउनेसहित नेपबहादुर कुँवर मगर विवेक, रामलाल रोका मगर मदनलगायत मोहन बैद्यतिर लागेका थिए। 
 
बाबुरामले भेलालाई सम्बोधन गर्दै आफ्नो नाम सुनेरै धेरै तन्नेरी माओवादीमा होमिएको बताएका थिए। पूर्व लडाकु पनि नयाँ शक्तिमा आएको देखेर हौसिएका उनले आफूलाई कारबाही गरिएपछि रोल्पा, मिरुलको घटनाको  प्रसंग सुनाए।
 
‘प्रचण्ड भन्ने मान्छे त चिनेकै थिएनौँ, सुनेकै थिएनौँ। बाबुरामको नाम सुनेर पढेलेखेका पनि जनयुद्धमा लागेका छन् भनी लाग्यौं। अहिले थाहा भयो, यो त गलत रहेछ। पार्टी त गलत मान्छेका हातमा पो रहेछ, अहिले तपाईंलाई कारवाही भयो। तपाईंलाई छोडेर हातहतियारसहित जानुपर्दा हामी अत्यन्त मर्माहत छौँ भनेर धुरुधुरु रुनुभयो,’ घटनाको प्रसंग सुनाउँदै बाबुरामले भनेका थिए।
 
‘हिजोसम्म त सेनामा बाबुरामलाई भारतपरस्त भनिएको थियो। अहिले त टाँगाको घोडा बाहिर छ नि सेना, स्वतन्त्र ढंगले विश्लेषण गर्ने ठाउँमा आए। विश्लेषण गर्ने धरातलमा आएपछि नयाँ शक्तिमा आए,’ पूर्व लडाकुको नेतृत्व गरेका हरिबहादुर श्रेष्ठ प्रमोदले सेतोपाटीसित भने। उनले नयाँ शक्ति निर्माण, युवा अभियानको संयोजन गरिरहेको जानकारी गराउँदै पूर्व पीएलए भनेर छिट्टै दर्ता गर्ने बताए।
 
माओवादीको सैन्य क्षेत्रमा लागेका कोही पनि बाबुरामतिर जाँदैनन् भनी एमाओवादीले दावी गरिरहेको बेला पुस ५ गते राजधानीमा पत्रकार सम्मेलन गरी ७५१ जनाका नाम सार्वजनिक गर्दै नयाँ शक्तिमा लागेका थिए।
 
नयाँ शक्तिमा जानेमा मधेसका जिल्ला सप्तरी र सिराहाका सबै भन्दा धेरै छन् भने पहाडी जिल्लामा बाबुरामको पकड मानिने रसुवा, गोर्खा, सिन्धुलीका बढी छन्। यसैगरी वाइसीएलका काठमाडौंै र ललितपुर पनि धेरै नाम उल्लेख छ। कर्णालीका कालीकोट र मुगुका पूर्व लडाकु पनि उल्लेख्य मात्रामा छन्।
 
उल्लेखित नाम सबै नयाँ शक्तिमा प्रवेश गरेको श्रेष्ठले बताए पनि पूर्व जनमुक्ति सेना प्रतिष्ठान गठन गर्ने जिम्मा दिइएकी पूर्व ब्रिगेड सहकमाण्डर कुशलरक्षा (पूर्ण पुन)ले भने आफू एमाओवादीमै रहेको जानकारी गराइन्। विज्ञप्तिमा पूर्व डिभिजन सहकमाण्डरहरु श्रेष्ठ, विष्ट, चौधरी, थापा र अर्का कमाण्डर हरेराम यादवसहित कुशलरक्षालाई जिम्मा दिइएको भनिएको छ। 
 
विज्ञप्तिमा कुशलरक्षादम्पतिकै नाम उल्लेख छ। उनका श्रीमान् टकबहादुर थापा उर्फ अर्जुन तेस्रो डिभिजनमा ब्रिगेड कमाण्डर थिए। युद्धमा दुवैले जीवनसाथी गुमाएपछि शान्तिप्रक्रियापछि दुवैले बिहे गरेका हुन्। पुन रोल्पाकी हुन् भने थापा गोर्खाका।
 
पुनले असहमति जनाएपछि नयाँ शक्तिमा लाग्ने लिष्टमा रोल्पाबाट कोही पनि छैनन्। पुन केही समय हिसिला यमीको स्टाफको रुपमा काम गरेकी थिइन्।
 
‘मलाई नयाँ शक्ति भन्नेको सिद्धान्त नै मन परेको छैन कसरी जाम्ला? कसले राखिदियो मेरो नाउँ? लागे क्रान्ति गर्ने पार्टीमा लागम्ला नि,’ पुनले सेतोपाटीसित भनिन्।
 
तपाईहरुले नाम प्रकाशित गर्नु भएका धेरैले नयाँ शक्तिसँग सहमत छैन रे भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामीले नाम सार्वजनिक नै गरेका छौं। असहमत भए त धेरैको खण्डन आउनुपर्ने। तपाईंहरुले त्यस्तो खण्डन पाउनु भएको छ र?’        
 
२०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि जनमुक्ति सेना सात प्रमुख र एक्काईस विभिन्न सहायक शिविरमा बसेका थिए। सुरुमा तीस हजार भन्दा बढी जनमुक्ति सेना दर्ता भए पनि दोस्रो प्रमाणिकरणमा १९ हजार ६०२ जति छानिए। माओवादीले ६ हजार ५०० जनमुक्ति सेना समायोजन गर्ने सम्झौता गरे पनि झण्डै १४०० मात्रै नेपाली सेनामा समायोजन भए। आधा दर्जन जतिले मात्र पुनस्थापना रोजे भने बाँकी १७००० लडाकु स्वेच्छिक अवकास। 
 
अधिकांश लडाकु रोजीरोटीका लागि अरब र मलेसिया उडेका छन्।

श्रोत - सेतोपाटी

Comments